जब
परिचित अनि
जानेसुनेकै घर गोठमा
मृत्यु पसेको
खबर सुनिन्छ
अनि
क्षणभरमै
भत्किन्छन्
मुस्किलले
संगालेर एकठ्ठा गरेका
आत्मविश्वासका
तगाराहरू
र पखालिन्छ
निमेषभरमै
बल्लतल्ल
अनुहारमा पोतेको
बनावटी हाँसोको रङ्ग
अनि उड्छ अनुहारको कान्ति र शान्ति।
क्षणभङ्गुर
लाग्छन् सबै
शान, मान र पद्वी
अनि तिसँगै उदाएका
फोस्रा घमन्ड
र अहङ्कारहरू ।
ए मनुष्य!
मृत्युको
उत्सव चलेको छ आजभोलि
शहर , बस्ती र गल्लीहरूमा
तिमी, उनी अथवा म
आमन्त्रित हुन
सक्छौँ उत्सवमा
जोसुकै, जतिसुकै बेला ।
त्यसैले, नभूल है मानव धर्म
बरु सोध्दै गर
नित्य
इस्टमित्र, छिमेक र शुभचिन्तक हरूमा
म ठिकै छु,बरु तपाईंलाई
कस्तो छ ?
No comments:
Post a Comment